बुढासुब्बा गोल्डकप : पुलिसलाई पाँचौपटक उपाधी, सडेन डेथमा संकटा पराजित

फागुन १४ / नेपाल पुलिस क्लबले उन्नाइसौँ बुढासुब्बा गोल्ड कपको उपाधी जितेको छ । सडेन डेथमा संकटा क्लबलाई हराएर  पुलिसले पाँचौपटक बुढासुब्बा गोल्डकपको उपाधी जितको हो ।

खेलमा पहिलो अग्रता लिएपनि त्यसलाई जोगाउन नसकेको संकटा टाइब्रेकरमा पराजित भयो ।खेलको निर्धारित समय १–१ र टाइब्रेकरमा ३–३ को बराबरीपछि सडन डेथमा पुलिसले बाजी मारेको थियो । टाइब्रेकरमा संकटाका लागि अनिल गुरुङ, सुशील केसी र अमित तामाङले गोल गरे । संकटाका मार्टिन्स र राज पौडेलले गोल गर्न सकेनन् । पुलिसका तेज तामाङ, जुमानु राई,अभिषेक रिजालले गोल गरे भने पहिलो पेनाल्टीमै अजित भण्डारी, बुद्ध तामाङ गोल गर्नबाट चुकेका थिए ।

धरान स्थित एन्फा टेक्निकल सेन्टरमा खेलको २८ औँ मिनेटमा संकटाका राज पौडेलले गोल गरेर अग्रता दिलाएका थिए । ८० औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पुलिसका जुमानु राईले खेल बराबरी गरे । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

धरान फुटबल क्लबलाई हराएर पुलिस र रुपन्देही ११ लाई हराएर संकटा फाइनलमा पुगेका हुन् । जितसँगै पुलिसले ५ लाख रुपैयाँ र उपविजेता संकटाले २ लाख ५० हजार रपैयाँ पुरस्कार पाए । ५ वटा नकआउट खेलमा सहभागी भएको पुलिसको भने बुढासुब्बा गोल्ड कपको उपाधी नै यो वर्षको पहिलो उपाधी हो । शनिबारको उपाधी जितेर ह्याट्रिक गर्ने संकटाको सपना पूरा हुन पाएन ।संकटाले यो सिजनमा विकास रनिङ सिल्ड नारायणगढ र सिमरा गोल्डकपको उपाधि जितेको थियो ।

यसअघि पोखरामा भएको आहा रारा गोल्डकपमा भने सङ्कटाले पुलिसलाई हराएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...