बिमल चम्किदा टिसी स्पोर्टसलाई च्यारिटी शिल्ड

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फरवार्ड बिमल घर्ती मगरले दुई गोल गरेपछि माल्दिभ्स च्याम्पियन टिसी स्पोर्टसले सिजनको पहिलो उपाधिका रुपमा च्यारिटी शिल्ड जितेको छ । मंगलबार भएको प्रतियोगिताको दोस्रो लेगको खेलमा टिसीले फोकाइदु एफसीलाई ३–१ ले हरायो र समग्रमा ४–२ को अग्रताका साथ उपाधिमाथि कब्जा जमायो ।

यसअघि पहिलो लेगको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । माले स्थित नेशनल फुटबल स्टेडियममा भएको खेलमा टिसीका लागि इब्राहिम असिमले २६औं मिनटमा पहिलो गोल गरे । खेलको ५२औं मिनटमा फोकाइदुले पेनाल्टीको अवसर पनि पाएको थियो तर त्यसलाई सदुपयोग गर्न सकेन ।

यद्यपि ५८औं मिनटमा अलि शामीयुले फोकाइदुका लागि बराबरी गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाए । तर ६९औं मिनटमा बिमलले टिसीका लागि दोस्रो तथा आफ्नो डेब्यु गोल गरे । त्यस्तै ७७औं मिनटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै टिसीलाई उपाधि जिताउन अहम भूमिका खेले ।

यसै सिजन टिसीमा आवद्ध भएका बिमलले च्यारिटी शिल्डको पहिलो लेगमा टोलीका लागी पहिलो रोजाई मै रहेर खेले तापनि गोल गर्न भने असफल भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...