एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखले दिए राजिनामा

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध तथा सल्लाहकार समितिका प्रमुख नबिन पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् । पाण्डेले एक वक्तव्य जारी गर्दै सोमबार आफ्नो राजिनामाको घोषणा गरेका हुन् ।

गत बर्ष बैशाख २२ गते सम्पन्न एन्फाको निर्वाचन लगतै अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वको पहिलो कार्यसमिति बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा सल्लाहकार समिति प्रमुखमा नियुक्त गरेको थियो । एन्फाले उनलाई नियुक्त गर्दा गैरआवासीय नेपालीलाई नियुक्त गरेको भन्दै त्यसको विरोध र आलोचना पनि भएको थियो ।

पाण्डेले एन्फा कँग्रेसमा अध्यक्ष शेर्पालाई विशेष सहयोग गर्नुका साथै एन्फाको अन्तर्राष्ट्रिय मामिलामा पनि सक्रिय भएर लागेका थिए ।

गोलनेपालका अनुसार पाण्डेले आफ्नो राजिनामाको कारण भने खुलाएका छैनन् । पाण्डेले बुझाएको राजिनामा पत्रमा उनले एन्फामा आफूलाई अवसर दिएकोमा सबैलाई धन्यवाद दिएका छन् । साथै उनले सबैलाई नजिकबाट चिन्न पाएको खुशी समेत व्यक्त गरेका छन् । त्यतिमात्र नभएर उनले नेपाली फुटबललाई सपोर्ट गर्न आफू सधै तयार भएको समेत बताएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...