नुवाकोट गोल्डकप : आर्मीमाथि संकटाको सनसनी

नुवाकोट (खेलदैनिक) । सिएमजी संकटा क्लब जारी दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनलमा संकटाले बलियो त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न खेलमा संकटाका लागि दुवै गोल लक्ष्मण रुचालले गरे । रुचाल खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार पनि प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत आइतबारको तेस्रो क्वाटरफाइनल खेल दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

नुवाकोट जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि जेठ ३१ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...