माल्दिभ्समा नेपाली फरवार्ड बिमलको ‘डेब्यु’

काठमाडौं (खेलदैनिक) । हालै माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्टसमा आवद्ध नेपाली फरवार्ड बिमल घर्ती मगरले क्लबका लागि डेब्यु गरेका छन् । नयाँ सिजनको शुरुवात अघि हुने च्यारिटी शिल्डमा बिमलले क्लबका लागि शुक्रबार डेब्यु गरेका हुन् ।

फोकाइदु फुटबल मैदानमा भएको पहिलो लेगको खेलमा बिमलको टोली टिसी स्पोर्टसले फोकाइदु एफसीसँग १–१ गोलको बराबरी खेल्यो । खेलमा बिमलले पहिलो रोजाई मै रहेर टिसी स्पोर्टसका लागि मैदानमा उत्रिए तापनि पूरै ९० मिनट खेल्नुका बावजुद गोल गर्न भने असफल भए ।

यद्यपि खेलमा शुरुवाती अग्रता भने टिसी स्पोर्टसले नै बनाएको थियो । खेलको ६५औं मिनटमा इस्माइल इसाले गोल गर्दै टिसीलाई शुरुवाती अग्रता दिलाए । यद्यपि ८८औं मिनटमा हुसेन फजिलले फोकाइदुका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

अब दोस्रो लेगको खेल ९ जुन आइतबारका दिन हुनेछ । स्मरणीय छ, टिसी स्पोर्टसले गत संस्करणको धिवेही प्रिमियर लिगको उपाधि समेत जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...