बिर्तामोड गोल्डकप : पुर्वेली युथ सेमिफाइनलमा

बिर्तामोड (खेलदैनिक) । पुर्वेली युथ एफसी जारी प्रथम बिर्तामोड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार डोमालाल राजवंशी रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा पुर्वेली युथले मुनाल क्लबलाई ५–२ ले हरायो ।

पुर्वेलीका लागि खेलको १७ र ३१औं मिनटमा बिकास बुढाथोकीले दुई गोल गरे । त्यस्तै ५२औं मिनटमा आशिष चापागाईंले पुर्वेलीको त्यो अग्रता तेब्बर पारे । तर त्यसलगतै ५४औं मिनटमा श्याम मुर्मुले मुनालका लागि एक गोल फर्काए ।

त्यसैगरी ७२औं मिनटमा पेमा लामाले मुनालका लागि दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यो सफल भएन । उता पुर्वेलीका लागि विकेस लिम्बु र प्रविन गुरुङले क्रमशः ७१औं र ८१औं मिनटमा थप दुई गोल गर्दै टोलीको शानदार जित पक्का गरे ।

खेलमा पुर्वेलीका आशिष चापागाईं म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक रेडस्टार एफसी र त्रिवेणी युथ क्लब, इलामबीच हुने आयोजकले जनाएको छ ।

यहि जेठ २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ७५,१११ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...