ताइपेइ विरुद्ध नेपालको भिडन्त आज, गल्ती सुधार्ने मौका

काठमाडौं (खेलदैनिक) अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका रुपमा नेपालले आज बलियो चाइनिज ताइपेइसँग उसकै घरेलु मैदानमा खेल्दैछ । स्थानीय समय अनुसार ७ बजे (नेपाली समय ४४५ बजे) शुरु हुने आजको खेल नेपालका लागि गल्ती सुधार्ने अवसर र अनुभव बटुल्ने मौका पनि हुनेछ ।

यसै साता क्वालालम्पुरमा मलेसियासँग २–० ले पराजित भएको नेपालले आज त्यो हारलाई बिर्सदै खेलमा सुधारिएको प्रदर्शन गर्न चाहन्छ । नेपालका प्रशिक्षक यहोन कालिनले पनि ताइपेइसँगको खेल आफ्ना लागि कठिन परिक्षा भएको बताएका छन् । साथै ताइपेइ जस्तो टोलीसँग भिड्नु राम्रो अवसर र अनुभवको कुरा भएको पनि उनको बुझाई थियो ।

फिफा वरियताको १२५औं स्थानमा रहेको ताइपेइ र १६८औं स्थानमा रहेको नेपालबीचको भिडन्त स्वभाविक रुपमा केही असहज हुने धेरैको अनुमान छ । तर नेपाली टोलीले ताइपेइ विरुद्ध उसकै घरमा एक जुट भएर डटेर खेल्ने हो भने नतिजा कुनै पनि बेला गोर्खालीको पक्षमा आउनेमा दुई मत छैन ।

खास गरी नेपाल हाल फिफा विश्वकप छनौटको दोस्रो चरण खेल्ने तयारीमा छ । जहाँ नेपालले एसियाका शिर्ष र बलिया टोलीहरुसँग खेल्नुपर्ने निश्चित छ । त्यतिमात्र नभएर नेपालले एएफसी एसियन कपको छनौट पनि खेल्नेछ । त्यसैले पनि आजको खेल नेपालका लागि गल्ती सुधार्ने र अनुभव बटुल्ने राम्रो अवसर पनि हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...