ताइपेइ विरुद्धको खेल कठिन परीक्षा : प्रशिक्षक कालिन

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले चाइनिज ताइपेइ जस्तो बलियो टोली विरुद्धको खेल नेपाली खेलाडीहरुका लागि राम्रो अनुभव हुने बताएका छन् । चाइनिज ताइपेइको निमन्त्रणामा नेपाली टोली हाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न ताइपेइमा छ ।

नेपाल र ताइपेइ बिहीबार आमने सामने हुँदैछन् । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रशिक्ष कालीनले भने “यहाँ आएर हामी निकै खुशी छौं । यो हाम्रो लागि कठिन परीक्षा हो । हामीले बलियो टोली विरुद्ध भिड्ने अपेक्षा गरेका छौं ।

हाम्रो युवा टोली पनि बलियो छ । हामी एकसाथ अगाडी बढ्ने प्रयास गरिरहेका छौं । हामीले यो भिडन्त कठिन हुने बुझेका छौं । यद्यपि यो हाम्रो लागि राम्रो अनुभव पनि हुनेछ । साथै हामी यो चुनौतिलाइृ स्वीकार्न तयार छौं ।”

कुराकानी कै क्रममा कालीनलाई उनको नयाँ टोलीबाट के आशा छ भन्ने प्रश्नमा उनी अगाडी भन्छन्, “यो यस्तै हो । खेलाडीहरु समय समयमा चोटील भईरहन्छन् । हामी फरक खेलाडीहरुलाई टेष्ट गरिरहेका छौं । मलाई लाग्छ, हामीसँग अझै पनि एउटा राम्रो स्क्वाड छ । हामी सधै आफ्नो खेलाडीहरु फिट होस् भन्ने चाहन्छौं, तर त्यो हुँदैन, जुन स्वभाविक पनि हो ।”

साथै कालीनले आफूसँग भएको टोलीबाट खुशी रहेको बताए । उनले मलेसिया र कुवेत विरुद्धको खेलमा नेपाली टोलीहरुको प्रदर्शनमा पनि सन्तुष्टी पोखे । त्यस्तै फिफा विश्वकप छनौटको दोस्रो चरणमा नेपाली खेलाडीहरुले राम्रो गर्ने विश्वास समेत व्यक्त गरे ।

नेपालले बिहीबार नेपाली समयअनुसार ४:४५ बजे चाइनिज ताइपेइसँग खाओसुङ स्टेडियममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...