भदन भण्डारी स्पोर्टस एकेडेमी अन्तिम चारमा

सुनसरी (खेलदैनिक) । मदन भण्डारी स्पोर्टस एकेडेमी, काठमाडौं जारी सातौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम तथा चौथो क्वाटरफाइनलमा स्पोर्टस एकेडेमीलाई रोयल क्लब, सिलिगुडी (भारत) लाई टाइब्रेकरमा ५–३ ले हराउँदै अन्तिम चारको यात्रा पक्का गरेको हो ।

त्यसअघि नियमित समयको खेलमा दुवै टोलीले रोमाञ्चक १–१ गोलको बराबरी खेलेका थिए । नियमित समयतर्फ स्पोर्टस एकेडेमीका लागि ३२औं मिनटमा यानिक ओवानाले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर ४७औं मिनटमा अरमान्डोले रोयल क्लबका लागि बराबरी गोल फर्काएका थिए ।

उता खेलको अन्तिमतिर ८२औं मिनटमा रोयल क्लबका रोनाल्डोले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि पाहुना टोली अन्तिम समय दश खेलाडीमा सिमित हुन पुगेको थियो । खेलमा मदन भण्डारी स्पोर्टस एकेडेमीका गोलरक्षक प्रिसो म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल रारा फुटबल क्लब, धनकुटा र संयुक्त युवा क्लब, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

यहि जेठ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...