मलेसिया विरुद्धको नतिजाले स्तब्ध छु : प्रशिक्षक कालिन

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनले मलेसिया विरुद्ध आफ्ना खेलाडीहरुले आशा गरेअनुसार खेल्न नसकेको र त्यो नतिजाले आफू स्तब्ध भएको बताएका छन् ।

स्मरणीय छ, आइतबार बेलुका क्वालालम्पुर स्थित बुकिट जलिल नेशनल स्टेडियममा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले घरेलु टोलीसँग ०–२ को स्तब्धपुर्ण हार बेहोरेको थियो ।

आइतबार मलेसिया विरुद्ध कमजोर प्रदर्शन गरेको नेपालले बलका लागि निकै संघर्ष गर्नुपरेको थियो । गोलनेपालको रिपोर्टअनुसार सो खेलमा मलेसियाले ७५ प्रतिशत बललाई आफ्नो नियन्त्रणमा राखेको थियो ।

उता खेलपश्चात्को पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कालिनले भने, “म निकै स्तब्ध छु । मेरा खेलाडीहरुले शुरुवाती मिनटमा खेल्न सकेनन् । खेलाडीलाई मैदानमा खेल्न पनि कठिन भईदिएको थियो ।”

सम्झिनु पर्ने कुरा त नेपालले आइतबार मलेसिया विरुद्ध नेचुरल टर्फमा खेलेको थियो । जबकी नेपाली खेलाडीहरुले आफ्नो नियमित अभ्यास आर्टिफिसियल टर्फमा गरेका थिए । त्यसैले पनि मलेसिया विरुद्धको खेलमा नेपाली खेलाडीहरुले खासै मैदानमा खासै राम्रो प्रदर्शन गर्न नसकेको कालिनको बुझाई थियो ।

साथै कालिनले मलेसियाको प्रदर्शनलाई लिएर प्रशंसा समेत गरे । उनले आगामी मैत्रीपूर्ण फुटबल म्याचमा नेपाली टोलीले सुधारिएको प्रदर्शन गर्ने विश्वास समेत व्यक्त गरे । नेपालले आफ्नो दोस्रो मैत्रीपूर्ण फुटबल म्याच जुन ६ तारीखका दिन चाइनिज ताइपेइ विरुद्ध खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...