नेपाल फेरि मलेसियासँग पराजित

काठमाडौं (खेलदैनिक) । मलेसियासँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच कमजोर प्रदर्शनसँगै हारका साथ टुँगिएको छ । आइतबार क्वालालम्पुर स्थित बुकिट जलिल नेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीसँग ०–२ को हार बेहोर्यो ।

पहिलो हाफसम्म मलेसियालाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भनै आफ्नै गल्तीका कारण पेनाल्टीबाट पहिलो गोल खान पुगेको थियो । अनन्त तामाङले मलेसियन खेलाडीलाई बक्स भित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो ।

जसलाई ५१औं मिनटमा सफावी रशिदले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । त्यस्तै ८२औं मिनटमा शहरुल सादले बक्स भित्रबाटै हेड गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । जुन खेलको निर्णायक नतिजा समेत बन्यो ।

यो नतिजासँगै मलेसिया विरुद्ध कहिल्यै पनि जित हात पार्न नसकेको नेपालले आइतबार सोही इतिहासलाई वर्तमानमा पनि आत्मसात गर्न बाध्य भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...