नेपाललाई मलेसिया विरुद्ध इतिहास रच्ने अवसर

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका रुपमा नेपाल र मलेसिया आइतबार (आज) आमने सामने हुँदैछन् । नेपाली फुटबलको इतिहासमा नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन ।

आइतबार क्वालालम्पुर स्थित बुकिट जलिल नेशनल स्टेडियममा स्थानीय समयअनुसार बेलुका १० बजे नेपालले मलेसियाको सामना गर्दै नेपाली टोलीको एउटा लक्ष्य इतिहास रच्नु पनि हुनेछ ।

फिफा वरियताको चर्चा गर्ने हो भने नेपाल १६१औं स्थानमा छ भने मलेसिया १६८औं स्थानमा छ । यद्यपि फुटबलमा चासो राख्नेहरुको भनाईलाई आधार मान्दा फुटबल भिडन्तमा वरियता भन्दा पनि टोलीको स्तरले बढी महत्व राख्ने गर्छ ।

विगतको नतिजा र तथ्यांकलाई हेर्ने हो भने पनि मलेसिया विरुद्ध नेपालको आँकडा निकै खराब रहेको छ । नेपाल र मलेसिया कुल ६ पटक आमने सामने भएका छन् । त्यसमध्ये मलेसियाले ५ मा जित हात पारेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

नेपालले सन् १९८५ को मार्च १६ तारीखका दिन फिफा विश्वकपको छनौट खेल्दा मलेसियासँग गोलरहित बराबरी खेलेको थियो । जुन मलेसिया विरुद्ध नेपालको अहिलेसम्म कै राम्रो नतिजा समेत हो ।

नेपाल र मलेसिया अन्तिमपटक सन् २००८ को मर्डेका कपमा भिडेका थिए । त्यो खेलमा पनि नेपालले ०–४ ले नतिजा मलेसियालाई सुम्पिएको थियो । यहाँ सम्झिनुपर्ने कुरा त नेपालले मलेसिया विरुद्ध एउटै गोल गर्न सकेको छैन भने बरु उल्टै कुल २१ गोल खाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...