उत्कृष्ट ‘कमब्याक’ गर्दै रारा सेमिफाइनलमा

सुनसरी (खेलदैनिक) । रारा फुटबल क्लब, राजारानी धनकुटा जारी सातौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा राराले बिर्तामोड युनाइटेड झापालाई टाइब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा स्थान बनायो ।

यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा पहिलो हाफ मै तीन गोलको अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसक्दा बिर्तामोडले हार बेहोर्न बाध्य भयो ।

बिर्तामोडका लागि खेलको पाँचौं मिनटमै सुमिन मैनालीले पहिलो गोल गरेका थिए । लगतै आठौं मिनटमा आशिष चापागाईंले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ४०औं मिनटमा बिबेक लिम्बुले गोल गर्दै बिर्तामोडलाई पहिलो हाफ मै ३–० को अग्रता दिलाएका थिए ।

यद्यपि दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गरेको राराका लागि बिरेन लिम्बुले ४६औं मिनटमा पहिलो गरे भने मिचेन तामाङले ५७औं मिनटमा राराका लागि दोस्रो गोल गरेका थिए । त्यस्तै ६९औं मिनटमा बिरेन लिम्बुले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलको म्यान अफ द म्याच रारा एफसीका बिरेन लिम्बु घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक गोल्डेन स्टार युथ क्लब, भलुवा र चारतारे क्लब, मोरङबीच हुने आयोजकले जनाएको छ ।

यहि जेठ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...