आयोजक गोल्डेन स्टार क्वाटरफाइनलमा

सुनसरी (खेलदैनिक) । आयोजक गोल्डेन स्टार युथ क्लब जारी सातौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा आयोजक गोल्डेन स्टारले रेड हर्स क्लब, इलामलाई ३–२ ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।

गोल्डेन स्टारका लागि १९औं मिनटमा श्रवण गच्छदारले गोल गर्दै घरेलु टोलीको गोलको खाता खोलेका थिए । त्यस्तै ३९औं मिनटमा रितिक खड्काले त्यो अग्रता दोब्बर पारे । खेलको ५०औं मिनटमा रेड हर्सले पेनाल्टीको अवसर पाएको थियो । यद्यपि पासाङ शेर्पाको त्यो पेनाल्टी प्रहार आयोजकका गोलरक्षक सुजित चौधरीले बिफल तुल्याईदिएका थिए ।

पेनाल्टी चुकाएको केही समय पश्चात् नै ६९औं मिनटमा रेड हर्सका लागि भुवन बस्नेतले पहिलो गोल फर्काए भने ७३औं मिनटमा दर्शन गुरुङले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । तर खेलको अन्तिमतिर ८२औं मिनटमा अरुण लिम्बुले आयोजकका लागि तेस्रो गोल गर्दै टोलीको टोलीको रोमाञ्चक जित सुनिश्चित गरेका थिए ।

खेलको म्यान अफ द म्याच गोल्डेन स्टारका रितिक खड्का घोषित भए । प्रतियोगिता अन्तरगत शनिबारको पहिलो क्वाटरफाइनल खेल बिर्तामोड युनाइटेड र रारा फुटबल क्लब, धनकुटाबीच हुने आयोजकले जनाएको छ ।

यहि जेठ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...