सी डिभिजन छनौट : च्याम्पियन्स ब्वाईजको जित

काठमाडौं (खेलदैनिक) । यहाँ जारी शहिद स्मारक सी डिभिजन लिग छनौटतर्फ बुधबार भएको खेलमा च्याम्पियन्स ब्वाईज एफसीले रोमाञ्चक जित हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्याम्पियन्सले रिले एफसीलाई ३–२ ले हरायो । खेलमा च्याम्पियन्सका लागि १५औं मिनटमा योमन चोचेले पहिलो गोल गरे । त्यस्तै ५७औं मिनटमा प्रविन भण्डारीले त्यो अग्रता दोब्बर पारे ।

यद्यपि खेलको ७५औं मिनटमा उमेश खड्काले रिलेका लागि पहिलो गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर ८१औं मिनटमा निरम वाइजाले च्याम्पियन्सका लागि तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे । उता खेलको इन्जुरी समयमा रिलेका लागि अनम श्रेष्ठले दोस्रो गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी छनौट लिग प्रतियोगितामा विभिन्न जिल्लाका कुल ३८ क्लबहरुले सहभागिता जनाएका छन् । छनौट प्रतियोगिताको शिर्ष तीन टोलीहरु सी डिभिजनमा बढुवा हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...