नयाँ खेलाडी, नयाँ प्रशिक्षक, नयाँ रणनीति : मिडफिल्डर राई

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राईले राष्ट्रिय टोलीमा परेका नयाँ खेलाडीहरुले आउँदो मैत्रीपूर्ण फुटबल म्याचमा राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।

हालै राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका स्वीडीस प्रशिक्षक योहान कालिनले नेपाली टोलीमा केही नयाँ अनुहारहरुलाई स्थान दिएका छन् । त्यसमध्ये अभिषेक रिजाल, सुमन अर्याल, तेज तामाङ, बिमल राना, अजित भण्डारी, सन्तोष तामाङ, रवि पासवान र सरोज दाहाल रहेका छन् ।

कुराकानीका क्रममा राई भन्छन्, “हामीसँग नयाँ प्रशिक्षक, नयाँ रणनीति छ । हामी विश्वकप छनौट खेल्ने तयारीमा छौं । ती दुई मैत्रीपूर्ण फुटबल म्याचले हाम्रो स्तर र प्रदर्शन सुधार्नमा सहयोग पुग्नेछ । टोलीमा नयाँ खेलाडीहरु छन् र उनीहरु राम्रा पनि छन् । मलाई विश्वास छ उनीहरुले राम्रो गर्नेछन् र आफूलाई प्रमाणित गर्नेछन् । मलाई आशा छ, हामीले मैत्रीपूर्ण फुटबल म्याचमा राम्रो नतिजा हासिल गर्नेछौं ।”

त्यस्तै कुराकानी कै क्रममा राईका अनुसार प्रशिक्षक कालिनले रक्षापंक्तिमा बढी जोड दिईरहेको चर्चा गरे । उनी अगाडी भन्छन्, “नयाँ प्रशिक्षकले रक्षात्मक पक्षमा बढी ध्यान दिईरहेका छन् । हामी अभ्यास पनि ४–४–२ को रणनीतिमा डिफेन्सिव शैलीमा गरिरहेका छौं ।”

स्मरणीय छ, नेपालले आगामी विश्वकप र एसियन कप छनौटलाई ध्यानमा राखी आउँदो महिना दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । जसअन्तरगत जुन २ तारीखका दिन नेपालले मलेसियासँग बुकिट जलिलमा खेल्दैछ भने जुन ६ तारीखका दिन चाइनिज ताइपेइसँग उसकै घरेलु मैदानमा भिड्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...