दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप: मनाङ र अवहानीले दुई दुई बराबरी खेल्दै अंक बाँड्यो

फागुन १३ – बङ्गलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्स्याङ्दी क्लबले तेस्रो खेलमा अंक बाँडेको छ । पहिलो खेलमा जित हात पारेको मनाङ दोस्रो खेलमा पराजित भएको थियो ।  शुक्रबार आयोजक टोली चटगाउँ अवहानी क्लबबिच भएको खेल दुई दुई गोलको बराबरीमा सकिएको छ ।

दुई गोलको अग्रता बनाइसकेको मनाङले अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको हो । खेलको तेस्रो मिनेटमै ओलावालेको गोलले मनाङले अग्रता लिएको थियो । मनाङको दोस्रो गोल २२ औँ मिनेटमा ओलावालेले नै गरे । खेलको ३२ औँ मिनेटमा अवहानीले एक गोल फर्काएर अन्तर कम गर्यो । ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अवहानीले खेल बराबरी गरेको हो । मनाङका ओलावाले म्यान अफ द म्याच भए ।

समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोटिङ क्लबलाई मनाङले २–० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मयीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । योसँगै मनाङको चार अंक भएको छ । अवहानीको पनि चार अंक नै छ ।

मनाङ सेमिफाइनल पुग्ने नपुग्ने निर्णयका लागि भने बंगलादेशको मोहमोदेन स्पोटिङ क्लब र अफगानिस्तानको शाहिन आस्मयीबिच हुने खेलको नतिजा पर्खनुपर्ने हुन्छ । खेलमा मोहमोदेन विजयी भए मनाङ सेमिफाइनल पुग्ने छ । खेल शुक्रबार बेलुका नै हुनेछ । 


प्रतिक्रिया दिनुहोस

Loading...