सगरमाथाद्वारा रारा गोल्डकपको उपाधि रक्षा

राजारानी (खेलदैनिक) । दश मिनट भित्र दुई गोल गर्दै साविक विजेता सगरमाथा युथ क्लब, मोरङ बुधबार सम्पन्न अग्नि–बसुन्धरा स्मृति नवौं टुबोर्ग रारा गोल्डकप फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

धनकुटा स्थित राजारानी खेलमैदानमा सम्पन्न फाइनल खेलमा सगरमाथाले चर्च ब्वाईज युनाइटेड, काठमाडौंलाई २–० ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । सगरमाथाले दुवै गोल दोस्रो हाफतर्फ दश मिनटभित्र गर्न सफल भएको थियो ।

सगरमाथाका लागि पहिलो गोल ७२औं मिनटमा म्यान अफ द म्याच समेत घोषित मनोज राईले गरे भने ७९औं मिनटमा भुवन बस्नेतले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । बिजेता बनेको सगरमाथाले उपाधिसहित नगद २ लाख हात पारेको छ भने उपविजेता चर्च ब्वाईजले १ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथाका बिष्णु सुनुवार घोषित भए । उनले पुरस्कार वापत नगद २० हजार प्राप्त गरे । रारा फुटबल क्लब, राजारानी धनकुटाको आयोजनामा यहि जेठ ४ गतेदेखि शुरु प्रतियोगितामा नेपाल, भुटान र क्यामरुनका गरी कुल ६ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...