बिमल, भरत राष्ट्रिय टोलीमा नपर्नुको कारण यस्तो..

काठमाडौं (खेलदैनिक) । नेपालले मलेसिया र चाइनिज ताइपेइ विरुद्ध खेल्ने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि राष्ट्रिय टोलीमा केही परिचित अनुहार अटाएनन् । त्यसमध्ये दुई फरवार्डद्वय बिमल घर्ती मगर र भरत खवास पनि थिए ।

यद्यपि गोलनेपालका अनुसार राष्ट्रिय टोलीका फिजियोथेरापिष्ट तथा एथलेटिक ट्रेनर विवेक विक्रान्त अधिकारीले भने बिमल घर्ती मगर चोटका कारण टोलीमा नपरेको स्पष्ट पारेका छन् । फिजियो अधिकारीका अनुसार बिमलले माल्दिभ्सको पेपर वर्कका कारण मुश्किलले दश दिन टोलीसँग अभ्यासमा बिताएका थिए ।

स्मरणीय छ, बिमल हालै माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्टसमा आवद्ध भएका थिए । जहाँ राष्ट्रिय टोलीका अर्का गोलरक्षक किरण चेम्जोङ पनि आवद्ध छन् । त्यसका साथै अधिकारीका अनुसार बिमल ह्यामस्ट्रिङ चोटका कारण पनि आगामी मेत्रीपूर्ण फुटबल म्याचका लागि उपलब्ध नहुने बताए ।

त्यस्तै उनले आर्मीका नियमित कप्तान भरत खवास पनि चोटका कारण टिममा नपरेको बताए । साथै उनले यी दुई फरवार्डद्वय विश्वकप छनौटका लागि राष्ट्रिय टोलीमा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

उता राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिनले खेलाडीहरुको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीको घोषणा गरेको बताएका थिए । राष्ट्रिय टोलीकै लागि भनेर अष्ट्रेलियाबाट फर्किएका जगजित श्रेष्ठ पनि टोलीमा परेनन् । त्यस्तै हेमन गुरुङ र हेमन्त थापा मगर पनि राष्ट्रिय टोलीमा पर्न असफल भएका थिए ।

नेपालले आउँदो जुन २ तारीखका दिन मलेसियासँग बुकिट जलिलमा खेल्दैछ भने जुन ६ तारीखका दिन चाइनिज ताइपेइसँग उसकै घरेलु मैदानमा खेल्दैछ ।

यस्तो छ नेपाली टोली:

गोलकिपर्स : किरण चेम्जोङ, एलन न्यौपाने, बिकेश कुथु

डिफेन्डर्स : बिराज महर्जन, सरोज दहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ्, रवि सिलवाल

मिडफिल्डर्स : सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ

फरवार्डस् : बिमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन बिष्ट


प्रतिक्रिया दिनुहोस

Loading...