विपक्षीमाथि हावी बन्दै दाफिन्स सेमिफाइनलमा

राजारानी (खेलदैनिक) । अफ्रिकी टोली दाफिन्स एफसी, क्यामरुन जारी अग्नि–बसुन्धरा स्मृति नवौं टुबोर्ग रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटा स्थित राजारानी खेलमैदानमा आइतबार भएको क्वाटरफाइनल खेलमा दाफिन्सले फ्यान्स बि.आर.सी., भुटानलाई ४–० को गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलको नवौं मिनटमै पेटेंगाले दाफिन्सका लागि गोलको खाता खोलेका थिए ।

त्यस्ते १५औं डिडेर टिनाले त्यो अग्रता दोब्बर पारे । खेलमा एकपक्षीय नतिजा निकालेको दाफिन्सका लागि २९औं मिनटमा पेटेंगाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । पहिलो हाफ मै तीन गोल गरेको दाफिन्सका लागि ६६औं मिनटमा कोनोले चौथो गोल गर्दै अफ्रिकी टोलीको सहज जित सुनिश्चित गरे ।

खेलको म्यान अफ द म्याच भने दाफिन्सका मेसोको घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत सोमबारको पहिलो सेमिफाइनल खेल आयोजक रारा फुटबल क्लब, राजारानी र सगरमाथा युथ क्लब, मोरङबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...