दाफिन्सलाई हराउँदै एपिएफ च्याम्पियन

धनकुटा (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लब धनकुटामा सम्पन्न १४औं भिमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ । शुक्रबार धनकुटा स्थित तल्लो टुंडिखेल मैदानमा भएको फाइनल भिडन्तमा एपिएफले पेनाल्टीमा दाफिन्सलाई ३–२ ले निराश तुल्यायो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको ४०औं मिनटमा यानिकको गोलबाट शुरुवाती अग्रता बनाएको दाफिन्सले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो । उता खेलको ६०औं मिनटमा रबी थिंगले पेनाल्टीबाट एपिएफका लागि बराबरी गोल फर्काएका थिए ।

तर एपिएफले त्यो गोलको खुशी पनि धेरैबेर मनाउन सकेन । ६७औं मिनटमै पेटेंगाले दाफिन्सलाई दोस्रोपटक खेलमा अग्रता दिलाए । यद्यपि खेलको अन्तिमतिर ८९औं मिनटमा महेश लामाले एपिएफका लागि दोस्रो बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक मोडमा ल्याएका थिए ।

बिजेता बनेको एपिएफले उपाधिसहित नगद ४ लाख हात पारेको छ । त्यस्तै उपविजेता दाफिन्सले भने २ लाखमा चित्त बुझाएको छ । शहिद भिम नारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा भएको प्रतियोगितामा नेपाल, क्यामरुन र भारतका गरी कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...