साँघुरो जितका साथ एपिएफ फाइनलमा

धनकुटा (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लब जारी १४औं भिमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले बिर्तामोड युनाइटेड क्लब, झापालाई १–० को झिनो अन्तरले हराउँदै फाइनल यात्रा तय गर्न सफल भएको हो । धनकुटा स्थित तल्लो टुँडिखेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा एपिएफका लागि ४४औं मिनटमा रबि थिंगले एक मात्र निर्णायक गोल गरे ।

खेलमा एपिएफका गोलरक्षक अमृत चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । अब एपिएफले उपाधिका लागि जेठ ४ गते शनिबार दाफिन्स एफसी, क्यामरुनसँग फाइनल खेल्नेछ ।

शहिद भिम नारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...