भिमनारायण गोल्डकप : दाफिन्स उपाधि नजिक

धनकुटा (खेलदैनिक) । दाफिन्स एफसी, क्यामरुन जारी १४औं भिमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिहान धनकुटा स्थित तल्लो टुँडिखेलमा भएको पहिलो सेमिफाइनलमा दाफिन्सले बिन्ध्यावासिनी एफसी, मोरङलाई २–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । खासगरी बुधबार हुने भनिएको यो पहिलो सेमिफाइनल खेल बर्षाले बिथोलिएपछि बिहीबार बिहान खेलाइने निर्णय भएको थियो ।

दाफिन्सको जितमा पहिलो हाफको १७औं मिनटमा पेटेंगाले पहिलो गोल गरे । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा एभेल इनामेले दोस्रो गोल गर्दै अफ्रिकी टोलीको जित सुनिश्चित गरेका थिए । खेलमा दाफिन्स कै यानिक ओवना म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहीबार नै दोस्रो सेमिफाइनलमा झापा–११ एफसी र नेपाल एपिएफ क्लब आमने सामने हुँदैछन् । शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...