रेफ्रीले मनाङसँग खेल मिलेमतो गरेको मिनर्वा पञ्जाबका प्रशिक्षकको आरोप

काठमाडौं (खेलदैनिक) । एएफसी कपतर्फ मनाङ मस्र्याङ्दी क्लबसँग शुरुवाती अग्रता लिएर पनि १–१ को बराबरीमा चित्त बुझाएपछि मिनर्वा पञ्जाबका प्रशिक्षक सचिन बड्ढेले मनाङ र रेफ्रीबीच खेल मिलेमतो भएको हुन सक्ने गम्भिर आरोप लगाएका छन् ।

बुधबार एन्फा कम्प्लेक्समा भएको खेलतर्फ पहिलो हाफको इन्जुरी समयमा मिनर्वा पञ्जाबका प्रतिक जोशीले रातो कार्ड खाँदै मैदान छाडेपछि पाहुना टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो । त्यतिबेलासम्म पञ्जाब १–० ले अगाडी समेत थियो । यद्यपि खेलको ८०औं मिनटमा शाइद अजिजले मनाङका लागि बराबरी गोल फर्काएका थिए ।

तर खेलपश्चात्को पत्रकार सम्मेलनमा भने पञ्जाबका प्रशिक्षक सचिन निकै आक्रोशित देखिए । उनले रेफ्रीले खेल मिलेमतो गरेको गम्भिर आरोप समेत लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “मनाङले गरेको त्यो गोल थिएन । विपक्षी खेलाडीले हाम्रो गोलरक्षकलाई धकेलेका थिए । हाम्रो खेलाडीलाई गलत तरिकाले रातो कार्ड देखाइयो । रेफ्रीको गलत निर्णयका कारण हामीले बराबरी खेल्नुपर्यो । यो धारणा मेरो व्यक्तिगत नभएर हाम्रो टिमको हो ।”

साथै उनले रेफ्री विरुद्ध एसियाली फुटबल महासंघ (एएफसी) मा उजुरी दिने समेत बताए । त्यति मात्र नभएर उनले मनाङले रेफ्रीलाई घुस दिएको हुन सक्ने आरोप पनि लगाए । साथै उनलाई प्रश्न सोध्ने पत्रकारहरुप्रति पनि उनको बोल्नै शैली केही अस्वभाविक देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...