एएफसी कप : निश्चित जितका लागि दबाब बिना खेल्दै मनाङ

काठमाडौं (खेलदैनिक) । एएफसी कपतर्फ समूह चरणको आफ्नो चौथो खेलमा मनाङ मस्र्याङ्दी क्लबले आइ लिग च्याम्पियन मिनर्वा पञ्जाबसँग आज खेल्दैछ ।

एन्फा टेक्निकल सेन्टरमा दिनको ३ बजेदेखि शुरु हुने आजको खेल मनाङलाई जित्नै पर्ने दबाब छ । समूह ई मा रहेको मनाङले ३ खेलबाट १ अंक जोड्दै पुछारमा छ । पञ्जाब भने ३ अंकका साथ तेस्रो स्थानमा रहँदा चेन्नईन ७ अंकका साथ शिर्ष स्थानमा छ । उता ढाका अवाहानी ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

प्रतियोगितामा आफ्नो सम्भाव्यतालाई कायम राख्न मनाङले आज जित्नै पर्नेछ । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ र कप्तान बिराज महर्जनले पनि निश्चित ३ अंकका लागि आज पञ्जाब विरुद्ध भिड्ने बताईसकेका छन् । यद्यपि प्रशिक्षक गुरुङले टोलीमा आज केही परिवर्तन पनि गर्न सक्ने बताएका थिए ।

उता पञ्जाबका प्रशिक्षक सचिन बडढेले पनि आफुहरु काठमाडौं तीन अंकका लागि आएको बताएका थिए । त्यसैले पनि आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनुका साथै भिडन्त पनि कडा हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...