एपिएफको जितमा रबीको दुई गोल

धनकुटा (खेलदैनिक) । सहज जितका साथ सशस्त्र प्रहरीको एपिएफ क्लब जारी १४औं भिमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटा स्थित तल्लो टुँडीखेल मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा एपिएफले फ्रेण्डस क्लब, काठमाडौंलाई शून्यका विरुद्ध ३ गोलले हरायो । एपिएफको जितमा खेलको ४५औं र ५१औं मिनटमा रबी थिंगले दुई गोल गरे । त्यस्तै थप एक गोल ७५औं मिनटमा कुमार दोङले गरेका थिए ।

खेलमा एपिएफका दुई गोलकर्ता रबी थिंग म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार पनि प्राप्त गरे । एपिएफले सेमिफाइनलमा अब बिर्तामोड युनाइटेड, झापाको सामना गर्नेछ । बुधबारको पहिलो सेमिफाइनल खेल दाफिन्स एफसी, क्यामरुन र विन्ध्यावासिनी एफसी, मोरङबीच हुने आयोजकले जनाएको छ ।

शहिद भिम नारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...