मनाङका कप्तान बिराज भन्छन्, “मिनर्वा पञ्जाब विरुद्ध दबाब बिना खेल्नेछौं”

काठमाडौं (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लबका कप्तान तथा डिफेन्डर बिराज महर्जनले टोलीमाथि कुनै दबाब नरहेको र एएफसी कपतर्फ समूह चरणका बाँकी खेलहरुमा राम्रो खेल्ने बताएका छन् ।

एएफसी कपमा मनाङले खेलेको पछिल्ला तीन खेलहरुबाट केवल १ अंक मात्र जोडेको छ । प्रतियोगितातर्फ आफ्नो होम म्याचका रुपमा मनाङले बुधबार एन्फा कम्प्लेक्समा मिनर्वा पञ्जाबको सामना गर्दैछ ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान महर्जनले भने, “पञ्जाबविरुद्ध हामी निश्चित तीन अंकका लागि भिड्नेछौं । हाम्रो लागी बाँकी खेलहरु सबै महत्वपूर्ण छन् । अघिल्लो चरणमा प्रवेश गर्ने हाम्रो सम्भावना कायम छ । हामीमाथि दबाब छैन । हामी आफ्नो तर्फबाट सक्दो राम्रो खेल्नेछौं ।”

साथै कप्तान महर्जनले जारी एएफसी कपमा आफ्नै गल्तीहरुका कारण पनि पछिल्ला खेलहरुमा आफूहरुले सोंचे जस्तो खेल्न नसकेको स्वीकारे । स्मरणीय छ, एएफसी कपमा आफ्नो सम्भाव्यतालाई कायम राख्न मनाङले बुधबार मिनर्वा पञ्जाबलाई हराउनै पर्ने दबाब पनि छ ।

एएफसी कपको समूह ई मा रहेको मनाङ र पञ्जाबसँगै अर्को भारतीय सुपर लिग क्लब चेन्नईन र बंगलादेशी च्याम्पियन ढाका अवहानी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...