बाँकी खेलहरु जित्नैपर्ने दबाब छ मनाङ : प्रशिक्षक गुरुङ (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । नेपाल लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले एएफसी कपतर्फ आफ्ना बाँकी खेलहरु जित्न आफूहरुमाथि दबाब रहेको बताएका छन् ।

एएफसी कपतर्फ समूह ई मा चेन्नईन, मिनर्वा पञ्जाब, ढाका अवाहानीसँगै रहेको मनाङले ३ खेलहरुबाट मात्र एक अंक जोड्दै पुछारमा रहेको छ । साथै मनाङले बुधबार मिनर्वा पञ्जाबसँग एन्फा टेक्निकल सेन्टरमा होम म्याच खेल्दैछ ।

यसअघि भुवनेश्वरमा भएको मिनर्वा पञ्जाब विरुद्धको खेलमा मनाङले २–२ गोलको बराबरी खेल्दै प्रतियोगितामा पहिलो अंक जोडेको थियो ।

उता मनाङमा प्रशिक्षक गुरुङले भने आफूहरुमाथि दबाब रहेको बताउँछन् । उनी भन्छन्, “जहाँसम्म मलाई लाग्छ हामीले राम्रो खेलेका छौं । तर हामीले प्राप्त अवसरलाई सदुपयोग गर्न सकेका छैनौं । बाँकी खेलहरुमा हामीले राम्रो गर्नुपर्छ र जित्नुपर्छ । हामीमाथि यहि दबाब छ ।”

साथै प्रशिक्षक गुरुङले टोलीको मिडफिल्डमा सुधार गरेको बताउँदै बुधबार हुने पञ्जाब विरुद्धको खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । समूह ई तर्फ ३ अंक जोडेको मिनर्वा पञ्जाब तेस्रो स्थानमा छ भने १ अंकका साथ मनाङ पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...