झापा–११ भरतपुर गोल्डकपको सेमिफाइनलमा

चितवन (खेलदैनिक) । झापा–११ यहाँ जारी सिएमएस भरतपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढ स्थित क्याम्पचौरमा सोमबार बिहान भएको दोस्रो क्वाटरफाइनलमा झापाले च्यासल युथ क्लबलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि यी दुई टोलीबीचको खेल आइतबार नै भए तापनि खराब प्रकाशका कारण ६६औं मिनटमा खेल रोके्र सोमबार बिहान खेलाइने निर्णय भएको थियो ।

त्यतिबेला झापा खेलमा २–१ ले अगाडी थियो । जुन नतिजा सोमबार पनि निर्णायक बन्यो । झापाका लागि खेलको शुरुवात मै सन्जोग राईले गोल गरेका थिए । त्यस्तै पहिलो हाफ कै इन्जुरी समयमा निशान लिम्बुले झापाली टोलीका लागि दोस्रो गोल गरेका थिए ।

उता पराजित च्यासलका लागि ५९औं मिनटमा सबी गुरुङले गोल गरे तापनि त्यो प्रर्याप्त बनेन । प्रतियोगिता अन्तरगत सोमबार बेलुकाको तेस्रो क्वाटरफाइनल खेल घरेलु टोली चितवन–११ र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।

एजे इन्टरनेशनलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आगामी जेष्ठ ४ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...