आयोजकलाई न्यू श्रृजना कपको उपाधि

तिलोत्तमा (खेलदैनिक) । रुपन्देहीमा सम्पन्न चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक न्यू श्रृजना युवा क्लबले जितेको छ ।

तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा भएको फाइनल भिडन्तमा न्यू श्रृजनाले फर्साटिकर युवा क्लबलाई पेनाल्टी शुटआउटमा ३–० ले हराउँदै उपाधि जित्न सफल भएको हो । यसअघि नियमित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

नियमित समयतर्फ आयोजक न्यू श्रृजनाका लागि किरन थापाले गोल गरेका थिए भने फर्साटिकरका लागि सुरज हमालले गोल फर्काएका थिए । विजेता बनेको न्यू श्रृजनाले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता फर्साटिकरले ५० हजारमा चित्त बुझायो ।

त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी फर्साटिकरका सुरज हमालले घोषित भए । उत्कृष्ट गोलरक्षक भने न्यू श्रृजनाका बिष्णु पल्ली मगर बने । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने लिस्नु युवा क्लबका अनुज थापा, फर्साटिकरका सुरज हमाल र रन्जित आले तथा न्यू श्रृजनाका नविन महतोले संयुक्त रुपमा हात पारे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी प्राप्त गरे । सर्वाधिक गोलकर्ताको पुरस्कार रकम भने घोषित खेलाडीहरुलाई आपसमा बाँडिएको आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले बताए ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा यहि बैशाख १३ गतेदेखि शुरु प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...