मैत्रीपूर्ण खेलका तयार छन् कालिन, कुवेत विरुद्ध राम्रो खेलेको दावी (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । गत महिना मात्र नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकीय जिम्मेवारी सम्हालेका स्वीडीस प्रशिक्षक योहान कालिनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय ड्युटीका रुपमा कुवेत पुगेका थिए । कुवेत सिटीमा भएको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय म्याचतर्फ कालिनको नेतृत्वमा नेपालले एक बराबरी र एकमा १–० को सम्माजनक हार बेहोरेको थियो ।

हाल सन् २०२२ को फिफा विश्वकप छनौट र एएफसी एसियन कप छनौट खेल्ने तयारीमा समेत रहेको नेपाली टोलीले आगामी महिना फेरि दुई फरक प्रतिद्वन्द्वीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । नेपालले जुन २ तारीखका दिन मलेसियासँग उसकै घरमा खेल्दैछ भने लगतै ६ जुनका दिन चाइनिज ताइपेईसँग खेल्ने तय भईसकेको छ ।

कुराकानीका क्रममा कालिनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचलाई राम्रो अवसरको संज्ञा दिएका छन् । उनी भन्छन्, “मेत्रीपुर्ण फुटबल म्याच खेलिनु राम्रो हो । मैत्रीपूर्ण खेलले हाम्रो वर्तमान अवस्था कहाँ छ र हामीलाई कहाँ मेहनत गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ । वास्तवमै यस्ता म्याचहरु हात पर्नु राम्रो हो ।

यस्ता मैत्रीपुर्ण खेलहरुले खेलाडीहरुमा थप अनुभव पनि प्रदान गर्नेछ । हामी अगाडी बढीरहेका छौं । म आफ्ना खेलाडीहरुले आगामी दिनमा राम्रो प्रदर्शन गरुन् भन्ने चाहन्छु ।”

कुराकानीकै क्रममा कालिनले आफूहरुले दबाबपूर्ण खेल खेल्न चाहेको समेत खुलासा गरे । उनी अगाडी भन्छन्, “हामीले कुवेत विरुद्ध राम्रो खेल्यौं, तर हाम्रो दबाबपूर्ण खेल खेल्ने रणनीति सफल भएन । हामी आउँदै गरेको मैत्रीपूर्ण खेलहरुमा राम्रो प्रदर्शन गर्न चाहन्छौं ।”

स्मरणीय छ, कालिनले कुवेत विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा धेरै नयाँ अनुहारहरुलाई अवसर दिएका थिए । कुराकानी कै क्रममा कालिनलाई मलेसिया र ताइपेई विरुद्ध पनि नयाँ खेलाडीहरुलाई अवसर दिने योजना छ कि भन्ने प्रश्नमा उनले नयाँ र पुराना खेलाडीहरुको सम्मिश्रणमा टोली तयार पार्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...