मोरङलाई प्रदेश स्तरीय महिला फुटबलको उपाधि

मोरङ (खेलदैनिक) । मोरङको लक्ष्मीमार्गमा सम्पन्न प्रथम प्रदेश स्तरिय महिला फुटवल प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ ।

बुधबार सम्पन्न फाईनल खेलमा मोरङले झापालाई १–० ले हराउँदै उपाधि जित्न सफल भएको हो । मोरङको जितमा साबित्रा मगरले खेलको ५९औं मिनटमा गरेको गोल खेलको निर्णायक गोल बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा दुबैतर्फबाट गोलको राम्रो प्रयास भए तापनि त्यो सफल हुन सकेन ।

बिजेता बनेको मोरङले उपाधिसहित नगद १ लाख ५० हजार हात पारेको छ भने उपविजेता झापाले ७५ हजारमा चित्त बुझाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङकी इमा राई घोषित भईन् ।

उत्कृष्ट गोलरक्षक मोरङ कै कल्पना राई घोषित हुँदा उत्कृष्ट डिफेन्डरको पुरस्कार पनि मोरङकी कोपिला धिमालले जितिन् । त्यसैगरी उत्कृष्ट मिडफिल्डर र फरवार्ड क्रमश झापाकी सरिता शेर्पा र पुजा खतिवडा घोषित भईन् ।

झापाकी पुजा खतिवडा प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनिन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार नगद र ट्राफी हात पारे ।

विजेता तथा उपविजेता टोलिलाई पुर्वाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष रबिन नगरकोटीले पुरस्कार बितरण गरेका थिए । सामाजिक विकास मन्त्रालय, प्रदेश १ को आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...