महिला च्याम्पियनसिप : झापा र मोरङ उपाधिका लागि भिड्ने

मोरङ (खेलदैनिक) । टाइब्रेकरबाट फाइनल प्रवेश छिनोफानो भएको सेमिफाइनल खेलहरुमा विजयी हुदै घरेलु टोली मोरङ र झापा जारी प्रथम प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको सेमिफाइनल खेलहरुतर्फ टाइब्रेकरमा मोरङले उदयपुरलाई ४–२ तथा झापाले ताप्लेजुङलाई ३–१ ले पराजित गर्दै फाइनल स्थान पक्का गरेका हुन् ।

यसअघि पहिलो सेमिफाइनलतर्फ निर्धारित समयको खेलमा मोरङ र उदयपुरले २–२ गोलको बराबरी खेलेका थिए । खेलको सुरुवातमै इमा राइको गोलबाट मोरङले अग्रता लिएको हो । पहिलो हाफको अन्त्य तिर उदयपुरकी मनिता तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिईन् ।

दोस्रो हाफको अन्त्यमा इमाले नै गोल गर्दै मोरङलाई दोस्रोपटक अग्रता दिलाए पनि इन्ज्युरी समयमा उदयपुरकी चुमुलुङमा राईले गोल गर्दै खेल २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याएकी थिईन् । खेलको वुमन अफ द म्याच मोरङकी इमा राई घोषित घाईन र ट्रफी तथा नगद २ हजार हात पारीन् ।

त्यस्तै दोस्रो सेमिफाइनलमा झापाले ताप्लेजुङलाई टाइब्रेकरमा ३–१ ले हराउन सफल भयो । यसअघि नियमित समयतर्फको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको वुमन अफ द म्याच झापाकी सुस्मिता चौधरी घोषित हुदै रु २,००० तथा ट्रफी प्राप्त गरिन ।

प्रतियोगिताको फाइनल खेल झापा र मोरङबीच बैशाख २५ गते बुधबार नै हुने आयोजकले जनाएको छ ।सामाजिक विकास मन्त्रालय, प्रदेश नं १ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित १,५०,००० तथा उपविजेताले ट्रफी सहित रु ७५,००० प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...