रोमाञ्चक जितका साथ आयोजक न्यू श्रृजना फाइनलमा

तिलोत्तमा (खेलदैनिक) । झिनो अन्तरको रोमाञ्चक जितका साथ आयोजक न्यु श्रृजना युवा क्लब जारी चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा न्यू श्रृजनाले सिद्धार्थ युवा क्लबलाई १–० को झिनो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । आयोजकको जितमा आशिष रिशीले एक मात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ द म्याच भने आयोजक क्लबकै डिफेन्डर आशिष गुरुङ घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको दोस्रो सेमिफाइनल लिस्नु युवा क्लब र फर्साटिकर युवा क्लबबीच हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...