भरतपुर गोल्डकपमा जावलाखेलको बिजयी शुरुवात

चितवन (खेलदैनिक) । मंगलबारदेखि शुरु सिएमएस भरतपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले बिजयी शुरुवात गरेको छ ।

नारायणगढ स्थित क्याम्पा चौरमा भएको उद्घाटन खेलमा जावलाखेलले बिजय युथ क्लब, हेटौडालाई सडेन डेथमा हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलमा जावलाखेलका यानिक ओवना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । जावलाखेलले क्वाटरफाइनलमा अब सिएमजी संकटा क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत बुधबारको खेल नेपाल एपिएफ क्लब र बिरगंज युथ एकेडेमी बीच हुने आयोजकले जनाएको छ । एजे इन्टरनेशनलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...