हमालको निर्णायक गोलसँगै फर्साटिकर सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । साँघुरो जितका साथ फर्साटिकर युवा क्लब जारी चौथो न्यु श्रृजना कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार तिलोत्तमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा फर्साटिकरले कडा प्रतिस्पर्धाका बीच झरना स्पोर्ट्स क्लबलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । फर्साटिकरको जितमा सुरज हमालले एक मात्र निर्णायक गोल गरे ।

खेलमा बिजयी फर्साटिकरका लागि निर्णायक गोल गरेका सुरज हमाल नै खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको पहिलो सेमिफाइनल खेल आयोजक न्यू श्रृजना युवा क्लब र सिद्धार्थ युवा क्लब बीच हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए ।

न्यु श्रृजना युवा क्लब, तिलोत्तमा–१३ करौजियाको आयोजनामा जारी प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...