रुचालको निर्णायक गोलसँगै झरना उपाधि नजिक

कपिलवस्तु (खेलदैनिक) । झरना स्पोर्टस् क्लब, कुञ्जलापुर कपिलवस्तुमा जारी प्रथम मुक्ति, राजेन्द्र, राजेश, ओमप्रकाश स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

चार नम्बर जितपुर स्थित सिद्धार्थ रंगशालामा भएको पहिलो सेमिफाइनलमा झरनाले भैरव एफसी, नवलपरासीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । झरनाको जितमा लक्ष्मण रुचालले एक मात्र निर्णायक गोल गरे ।

खेलमा झरनाका निर्णायक गोलकर्ता लक्ष्मण रुचाल म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको दोस्रो सेमिफाइनल खेल वाणगंगा वेलफेयर सोसाइटी, कपिलवस्तु र सिद्धार्थ क्लब, बाँसगढीबीच हुने आयोजक क्लबका गणेश ढुंगानाले जानकारी दिए ।

तरुण दल जिल्ला कार्य समिति, कपिलवस्तुको आयोजनामा यहि वैशाख २५ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...