तिलोत्तमा गोल्डकपः एपिएफको विजयी सुरुवात

फागुन १२, २०७३
(सुरज राना मगर, बुटवल, खेलदैनिक)

बुटवलमा बिहीबारबाट तिलोत्तमा गोल्डकपको १९ औं संस्करण सुरु भएको छ। उद्घाटन खेलमा सशस्त्र प्रहरी क्लब एपिएफ काठमाडौंले विजयी सुरुवात गरेको छ।

एन्फा टेक्निकल सेन्टर बुटवलको मैदानमा भएको खेलमा पाहुना टोली शेरे एफसि क्यालिङपोङलाई १–० गोलले हराउँदै एपिएफले विजयी सुरुवात गरेको हो। पहिलो हाफको २१ औं मिनेटमा सरोज कोइरालाले हेडिङ मार्फत आकर्षण गोल गर्दै एपिएफका लागि अग्रता दिलाएका थिए।

अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखे पनि एपीएफले थप गोल गर्न सकेन । त्यस्तै खेलको ६९ औं मिनेटमा शेरे एफसीका गोलरक्षक विवेक तामाङले एपीएफका राम कुमाललाई फल गरेपछि फिफा रेफ्री विकास महतले एपीएफलाई पेनाल्टीको अवसर दिएको थियो यद्यपि एपीएफका कप्तान मिलन राईको प्रहार शेरे एफसीका गोलरक्षक विवेक तामाङले आकर्षक रुपमा जोगाएका थिए ।

खेलमा दुवै टोलीले पाएको केही राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन् । बिहीबारको खेलमा एपीएफका रुपक लामा म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता फागुन २१ गतेसम्म चल्ने छ। विभागीय टिमसहित १० टिमको सहभागिता हुने प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५/१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लव, धरान फुटवल क्लव, एचएम हिमालयन शेर्ष क्लव, रमपम झापा ११, दिल्ली युनाईटेड एफसि र शेरे एफ सि क्यालिङगपोङको सहभागिता छ।

करिव ७५ लाख रुपैयाँको खर्च अनुमान गरिएको प्रतियोगितामा अग्नी सिमेन्टले प्रयोजकको रुपमा १५ लाख रुपैयाँ प्रदान गरेको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्।

प्रतियोगिता अन्तर्गत शुक्रबार दिउँसो २ बजे नेपाल आर्मी क्लव काठमाडौं र सिक्किम युनाईटेड सिक्किमका बीच प्रतिस्पर्धा हुने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष दिर्घबहादुर कसीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस

Loading...