महिला च्याम्पियनसिप : इलाम र सुनसरी क्वाटरफाइनलमा

मोरङ (खेलदैनिक) । इलाम र सुनसरी जारी प्रदेश १ स्तरीय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मोरङ स्थित लक्ष्मीमार्ग खेलमैदानमा भएको खेलमा इलामले सोलुखुम्बुलाई ५–० ले हरायो । इलामको जितमा संरचना प्रधान र प्रिया राईले २–२ गोलको योगदान दिए । त्यस्तै इलामका लागि अनिता राईले थप एक गोल गरीन् । इलामले क्वाटरफाइनलमा अब उदयपुरको सामना गर्नेछ ।

त्यसैगरी अर्को खेलमा सुनसरीले संखुवासभालाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ । यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । नियमित समयतर्फ सुनसरीका लागि मुना मगर र नेहा चौधरीले गोल गरेकी थिईन् भने संखुवासभाका लागि अस्मिता गुरुङ र लकी शेर्पाले गरेकी थिईन् ।

सुनसरीले क्वाटरफाइनलमा अब झापाको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत बैशाख २२ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल ताप्लेजुङ र भोजपुरबीच हुनेछ भने दोस्रो क्वाटरफाइनल खेल मोरङ र धनकुटाबीच हुनेछ ।

सामाजिक विकास मन्त्रालय, प्रदेश १ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि बैशाख २५ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...