मेचीनगर गोल्डकप : पुलिसका पासवान बने सर्वोत्कृष्ट खेलाडी

काकरभिट्टा (खेलदैनिक) । चौथो मैचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाल पुलिस क्लबका रवि पासवान प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट बनेका पासवानले पुरस्कार स्वरुप नगद १ लाख र ट्रफी हात पारे ।

स्मरणीय छ, शनिबार काकरभिट्टा माविमो खेलमैदानमा भएको फाइनल भिडन्तमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै उपाधि जितेको थियो ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पुलिसका शत्रुधन चौधरी उत्कृष्ट गोलरक्षक बने भने पुलिस कै आशिष गुरुङ उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट मिडफिल्डर आर्मीका सेसेहाङ आङदेम्बे घोषित हुँदा उत्कृष्ट फरवार्ड पनि आर्मी कै नवयुग श्रेष्ठ बने ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक भने पुलिसका अनन्तराज थापा घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २१–२१ हजार नगद र ट्रफी प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...