आर्मीलाई हराउँदै पुलिसले जित्यो मेचीनगर गोल्डकप

काकरभिट्टा (खेलदैनिक) । शनिबार सम्पन्न चौथो मैचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

काकरभिट्टा माविमो खेलमैदानमा सम्पन्न फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै उपाधि माथि कब्जा जमायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

पेनाल्टी शुटआउटतर्फ आर्मीका विकास तामाङको पेनाल्टी प्रहार खेर गएको थियो भने पुलिसका लागि मान बहादुर परियारले पेनाल्टीबाटै निर्णायक गोल गर्दै टोलीलाई बिजयी बनाएका थिए । फाइनल खेलको म्यान अफ द म्याच पुलिसका रोशन खड्का घोषित भए । उनले पुरस्कार वापत नगद ११ हजार प्राप्त गरे ।

बिजेता बनेको पुलिसले उपाधिसहित नगद १० लाख हात पारेको छ भने उपविजेता आर्मीले ५ लाखमा चित्त बुझाएको छ । काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यहि बैशाख १२ गतेदेखि शुरु प्रतियोगितामा नेपाल, क्यामरुन र भुटानका गरी कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...