नेपालले चाइनिज ताइपेइसँग खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीले आफू भन्दा माथिल्लो वरियताको चाईनिज ताइपेइ विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।

फिफा वरियताको १२५औं स्थानमा रहेको ताइपेइ र १६१औं वरियताको नेपालबीच जुन ६ तारीखका दिन चाइनिज ताइपेइ मै एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने भएको हो ।

यद्यपि यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । गोलनेपालका अनुसार चाइनिज ताइपेइले नेपालसँग खेल्नका लागि गरेको मैत्रीपुर्ण फुटबल म्याचको प्रस्तावलाई एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले स्वीकृति दिएको छ ।

नेपालले हालै कुवेत विरुद्ध भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच अन्तरगत एक खेलमा गोलरहित बराबरी र अर्को खेलमा ०–१ को हार बेहोरेको थियो । स्मरणीय छ, नेपाली फुटबल टोलीले सन् २०२२ को फिफा विश्वकप छनौट र २०२३ को एएफसी एसियन कप छनौटको लागि तयारी शुरु गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...