
काकरभिट्टा (खेलदैनिक) । रोमाञ्चक जित हात पार्दै नेपाल पुलिस क्लब जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार काकरभिट्टा माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा पुलिसले सिएमजी संकटा क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो । यसअघि निर्धारिम समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ पुलिसका लागि म्यान अफ द म्याच समेत घोषित मान बहादुर परियारले गोल गरेका थिए भने संकटाका लागि फोडे फोफोनाले गोल गरेका थिए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका पुलिसका गोलरक्षक रोशन खड्काले विपक्षीको दुई प्रहार रोक्दै टोलीलाई स्मरणीय जित दिलाएका थिए ।
प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।