कठिन जितका साथ एपिएफ सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब जारी दोस्रो चन्द्रागिरी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नगरपालिका–१३, पुरानो नैकाप स्थित स्थानीय खेलमैदानमा भएको कडा प्रतिस्पर्धात्मक खेलमा एपिएफले फ्रेण्डस क्लबलाई २–१ ले हरायो । खेलमा शुरुवाती गोलको अग्रता एपिएफले नै लिएको थियो ।

खेलको ३०औं मिनटमा प्रविन स्याङ्तनले एपिएफका लागि पहिलो गोल गरे । तर त्यो गोलको अग्रता एपिएफले पाँच मिनट पनि राख्न सकेन । उता लगतै ३३औं मिनटमा बिकास लामाले फ्रेण्डसका लागि बराबरी गोल फर्काए ।

त्यसपछिको निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि अतिरिक्त समयको १०१औं मिनटमा आशिष लामाले निर्णायक गोल गर्दै एपिएफलाई कठिन जित दिलाए । खेलमा निर्णायक गोल गरेका एपिएफका आशिष लामा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंगलबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक दिपशिखा युवा समूह र सरस्वती युवा क्लबबीच हुने आयोजकले जनाएको छ । दिपशिखा युवा समुह, चन्द्रागिरी–१३, पुरानो नैकापको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...