चन्द्रागिरी गोल्डकप शुरु, आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । आइतबारदेखि शुरु दोस्रो चन्द्रागिरी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले बिजयी शुरुवात गरेको छ ।

चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकाप स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा जावलाखेलले विभागीय टोली त्रिुभवन आर्मी क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै बिजयी शुरुवात गरेको हो ।

जावलाखेलको जितमा खेलको शुरुवाततिरै पाँचौं मिनटमा डेनियल बेजेले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा आर्मीले भरत खवास र जर्ज प्रिन्स कार्की बाहेक अन्य सबै दोस्रो रोजाईको खेलाडी लिएर उत्रिएको थियो ।

यो जितसँगै जावलाखेल प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा विशाल तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको खेल फ्रेण्डस क्लब र नेपाल एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

दिप शिखा युवा समूहको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल बैशाख २२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...