मेचीनगर गोल्डकप : आयोजकलाई हराउँदै संकटा सेमिफाइनलमा

काकरभिट्टा (खेलदैनिक) । आयोजक मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई स्तब्ध पार्दै सिएमजी संकटा क्लब जारी चौथो मैचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार काकरभिट्टा माविको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा संकटाले काकरभिट्टालाई ४–१ ले हरायो । संकटाको जितमा फोडे फोफोनाले खेलको २१औं, २७औं र ४४औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

त्यस्तै थप एक गोल भने ५४औं मिनटमा क्रिष्टियनले गरे । उता पराजित काकरभिट्टाका लागि ८०औं मिनटमा बिमल घर्ती मगरले फ्रिकिक मार्फत एक मात्र सान्त्वना गोल फर्काए । खेलमा ह्याट्रिक गरेका संकटाका फोफोना म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो क्वाटरफाइनल खेल धरान एफसी र दावेदार मानिएको त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...