मेचीनगर गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र दाफिन्स भिड्दै

काँकरभिट्टा (खेलदैनिक) । अफ्रिकी मुलका खेलाडीहरुले भरिएको दाफिन्स एफसी क्यामरुन र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिहिवार मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा भिड्दै छन् ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा शुरु हुने प्रतियोगिताको चौथो संस्करणको उद्घाटन खेलमा यी दुई टिमको यो सिजनमा तेस्रो भेट हो ।

गत बर्ष मदन भण्डारी इटहरी गोल्डकपको फाइनलमा दाफिन्स एफसीलाई टाइब्रेकरमा मेची नेत्रालयले पराजित गरेको थियो । त्यसपछि दुहबी गोल्डकपको सेमीफाईनलमा मेची नेत्रालयलाई हराउदै दाउफिन्सले गोल्डकपको उपाधी समेत आफ्नो पोल्टामा पारेको थियो ।

यसै वर्ष मात्र करिब आधा दर्जन विभिन्न गोल्डकपको उपाधी चुमेको दाफिन्सलाई आयोजक मेची नेत्रालयसँगको यो भेट निकै चुनौतीपूर्ण बन्ने छ । आयोजकका तर्फबाट विशाल राई ए ले टिमको कप्तानी गर्नेछन् ।

गोल्डकप विजेताले उपाधिसहित नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ ।

त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउने छन् । २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय, दुई विदेशी सहित १० टिमको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...