नेपालले फिफा विश्वकप र एएफसी कपको प्रारम्भिक छनौट खेल्न नपर्ने

काठमाडौं (खेलदैनिक) । नेपालले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ को एएफसी एसियन कपको प्रारम्भिक छनौट खेल्न नपर्ने भएको छ । जसको अर्थ नेपालले अब सोझै दोस्रो चरणको छनौट खेल्ने निश्चित भएको छ ।

फिफा विश्वकप र एएफसी कपको प्रारम्भिक छनौटको ड्र यहि अप्रिल १७ तारीख बुधबारका दिन एएफसीको मुख्यालयमा निकालिंदैछ । फिफाको नयाँ वरियता अनुसार एसियाली राष्ट्रहरुमा ३५ देखि ४६औं वरियता सम्मको देशहरुले फिफा विश्वकप र एएफसी कपको प्रारम्भिक छनौटमा भिड्नु पर्ने भएको छ ।

फिफाको नयाँ वरियता अनुसार ती दुई छनौटको लागि मलेसिया, कम्बोडिया, मकाउ, लाओस, भुटान, मंगोलिया, बंगलादेश, गुआम, ब्रुनेई, टिमोर लिस्टे, पाकिस्तान र श्रीलंकाले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल भने नयाँ वरियता अनुसार एसियाली देशहरुमध्ये ३४औं स्थानमा छ । जसका कारण नेपालले फिफा विश्वकप र एएफसी छनौटको सोझै दोस्रो चरणमा बलिया टोलीहरु विरुद्ध भिड्ने निश्चित भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...