युवा फरवार्ड बिमलले पनि माल्दिभ्समा व्यवसायीक फुटबल खेल्ने पक्का

काठमाडौं (खेलदैनिक) । नेपालका युवा फरवार्ड बिमल घर्ती मगरले माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्टसबाट व्यवसायीक फुटबल खेल्ने भएका छन् । स्मरणीय छ, नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङ पनि टिसी स्पोर्टसमै आवद्ध छन् र उनले भर्खरै क्लबसँग चार बर्षको नयाँ सम्झौता समेत गरेका छन् ।

नेपाली फुटबल साईट गोलनेपालका अनुसार बिमललाई टिसी स्पोर्टसले नयाँ सिजनका लागि अनुबन्ध गरेको पुष्टी गरेको छ । गोलनेपाललाई प्राप्त जानकारी अनुसार बिमलले यहि आउँदो मई महिनादेखि प्रि–सिजनमा सहभागीता जनाउन क्लबमा आवद्ध हुनेछन् । यद्यपि माल्दिभ्सको नयाँ लिग सिजन भने जुन महिनादेखि शुरु हुँदैछ ।

बिमलले गत महिना मात्र बेल्जियमको तल्लो डिभिजनको क्लबमा ट्रायल दिएर स्वदेश फर्किएका थिए । गोलनेपालका अनुसार माल्दिभ्सको लिग फुटबलमा दुई नेपाली राष्ट्रिय फुटबलरले खेल्न लागेको यो दोस्रोपटक हो । यसअघि सन् २००९ मा सन्तोष साहुखल र जुमानु राईले माल्दिभ्सका दुई फरक टोलीबाट लिग खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...