मोफसलको उपाधिमाथि दाफिन्सको ‘डबल ह्याट्रिक’

सुनसरी (खेलदैनिक) । चौथो टुबोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दाफिन्स एफसी, क्यामरुनले जितेको छ । मोफसलमा दाफिन्सको यो छैठौं उपाधि समेत हो ।

सुनसरीको बराहक्षेत्र–५ कालाबन्जर स्थित खेलमैदानमा बुधबार भएको फाइनल भिडन्तमा दाफिन्सले साविक विजेता रेड हर्स क्लब, इलामलाई ४–० ले हराउँदै मोफसलको उपाधिमाथि डबल ह्याट्रिक गर्न सफल भएको हो ।

दाफिन्सका लागि खेल शुरु भएको तेस्रो मिनटमै डिडेर टिनाले पहिलो गोल गरे । लगतै छैठौं मिनटमा अनगुइन जेआरले दाफिन्सको अग्रता दोब्बर पारे । खेलमा एकतर्फी नतिजा निकालेको दाफिन्सका लागि पहिलो हाफको २६औं र दोस्रो हाफतर्फ ४९औं मिनटमा दुई गोल गर्दै अफ्रिकी टोलीको शानदार पक्का गरे ।

बिजेता बनेको दाफिन्सले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता रेड हर्सले १ लाख ५० हजारमा चित्त बुझायो । दाफिन्सको समग्रमा यो छैठौं र लगातार दोस्रो उपाधि समेत हो । स्मरणीय छ, अफ्रिकी टोलीले भर्खरै सम्पन्न दुहबी गोल्डकपको उपाधि समेत उचालेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...